प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर
पृष्ठभूमि

कोशी प्रदेशको संक्षिप्त परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह््यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् ।

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस कोशी प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।

यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ । जलस्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दूधकोशी, मेची, कन्काई र त्रियुगालगायतका नदीहरू रहेका छन् ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.