संक्षिप्त परिचय

हिमाल,पहाड र तराईसम्म फैलिएको यस प्रेदेश नं १ मा झापा,इलाम,पांचथर,ताप्लेजुंग,संखुवासभा,तेरथुम,भोजपुर,धनकुटा,खोटाङ,सुनसरी,मोरङ,सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन | यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ | मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ |

 

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण,क्षेत्रि,राई,लिम्बु,थारु,लेप्चा,तामांग,गुरुङ,मेचे,कोचे,यादव,राजवशी,लगायतका जातिहरुको बसोबास रहेकोछ भने नेपाली,मैथिली,किराती,तामांग,लिम्बु,गुरुङ,लेप्चा,मगर र थारु भाषा मुख्य रपमा बोलिन्छन | विश्वकै सर्वाच्च शिखर सगरमाथा लगायत कन्चंजंगा,मकालु,चोयु,लोत्से,जन्नु,यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेकोछ | यस प्रदेशमा ईलामको अन्तुडाडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार,सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन् | प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज,मकालु बरुण रास्ट्रिय निकुन्ज,कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा रहेको छन् |

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक सम्पदाले सुसोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदुरपूर्वमा रहेको यस प्रदेश नं १ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरु जस्तै – ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन्। यी स्थलहरुमा स्वदेशी तथा विदेशी तिर्थालुहरुको प्रगाढ आस्था रही आएकोछ।वर्षेनी हजारौं भक्त्तजन तथा तिर्थयात्रीहरुको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । 
यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलश्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दुधकोशी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरु रहेका छन् ।