माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूको संक्षिप्त परिचय
माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईको जन्म वि.सं. २०२७ असार १५ गते भोजपुर जिल्लाको साबिकको किमालुङ गाउँ विकास समितिको सुर्के भन्ने ठाउँमा भएको हो । हाल भोजपुर जिल्लाकै षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरीमा उहाँको स्थायी बसोबास छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमा मुख्यमन्त्री राई कान्छा छोरा हुनुहुन्छ । उहाँका दुई दाजु र एक जना दिदी हुनुहुन्छ । माननीय मुख्यमन्त्री राई वि.सं. २०६० सालदेखि शोभा पाठकसँग वैवाहिक सम्बन्धमा हुनुहुन्छ ।
वि.सं. २०७४ मंसिरमा भएको निर्वाचनमा उहाँ भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित हुनुभएको हो । तत्कालीन समयमा वाम गठबन्धनका तर्फबाट उहाँले १९ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको थियो । मुख्यमन्त्री राईले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग विद्यार्थी राजनीतिको लामो अनुभव छ । गाउँमै माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै उहाँ अनेरास्ववियुमा संगठित हुनुभएको थियो ।
उच्च शिक्षा अध्ययनका लागि काठमाडौं प्रवेश गरेपछि उहाँ २०४५ सालमा रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य हुनुभयो । त्यसपछि २०४९ सालमा स्ववियु सभापति हुनुभयो । उहाँ अनेरास्ववियुको महासचिव हुँदै वि.सं. २०५७–२०५९ र वि.सं.२०५९–२०६१ गरी दुई कार्यकाल उक्त संगठनको केन्द्रीय अध्यक्ष हुनुभयो ।
विद्यार्थी संगठनपछि उहाँ तत्कालीन समयमा नेकपा एमालेको दुई कार्यकाल केन्द्रीय सदस्य हुनुभयो । मुख्यमन्त्री राई हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय सचिव हुनुहुन्छ । लोकतन्त्र तथा गणतन्त्रको आन्दोलनका क्रममा उहाँले केही समय जेल जीवन बिताउनुपरेको थियो । पञ्चायती शासनकालमा उहाँ ७ महिना केन्द्रीय कारागारमा र शाही शासनकालमा ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी हुनुभएको थियो ।
उहाँले पोर्चुगल, डेनमार्क, स्पेन, बेल्जियम, स्वीडेन, अल्जेरिया, भारतलगायतका देशको भ्रमण गर्नुभएको छ । माननीय मुख्यमन्त्री राईका ‘विचारको खेती’ र ‘आयु ! विद्यार्थी आन्दोलनको’ नामका दुई पुस्तक पनि प्रकाशित छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नम्बर १ संसदीय दलका नेता माननीय राजेन्द्रकुमार राई नेपालको संविधानको धारा १६८(२) अनुसार मिति २०७८ कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।